५ बैशाख २०८३,शनिबार

रास्वपामा सरकार गठनको गृहकार्य तीव्र, बिरामी सभापति रवि लामिछानेको निवासमै शीर्ष नेताको छलफल

  • २९ फाल्गुन २०८२,शुक्रबार Updated
  • / 38 Read

रास्वपामा सरकार गठनको गृहकार्य तीव्र, बिरामी सभापति रवि लामिछानेको निवासमै शीर्ष नेताको छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्वस्थ भएपछि नयाँ सरकार गठन र पार्टीका महत्वपूर्ण निर्णयबारे शीर्ष नेताहरू उनको बूढानीलकण्ठस्थित निवासमै छलफलमा जुटेका छन् ।

चुनावी दौडधुपका कारण केही दिनदेखि बिरामी परेका लामिछानेलाई ज्वरो र पिसाब संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ । चिकित्सकले उनलाई अझै एक–दुई दिन आराम गर्न सुझाव दिएका छन् ।

उनको स्वास्थ्य अवस्थाका कारण पछिल्ला दिनमा पार्टीका शीर्ष नेताहरूबीचको छलफल पनि निवासमै भइरहेको स्रोतको भनाइ छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार लामिछानेलाई भेट्न निवास पुगेका थिए । निर्वाचन परिणाम सार्वजनिक भएपछि दुई नेताबीच भएको यो पहिलो भेट हो । उनीहरूबीच एक्लाएक्लै छलफल भएको बताइएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ठूलो सफलता हासिल गरेपछि रास्वपाभित्र सरकार गठन, संसदीय दलको नेतृत्व चयन तथा मन्त्रिपरिषद् गठनबारे आन्तरिक गृहकार्य तीव्र भएको छ । चुनावअघि नै पार्टीले वरिष्ठ नेता बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो ।

यसैबीच पार्टी कार्यालय वनस्थलीस्थित घण्टीघरमा भने नेता–कार्यकर्ताको आवतजावत जारी छ । त्यहाँ उपसभापति डीपी अर्यालले नवनिर्वाचित सांसद तथा नेता–कार्यकर्तासँग भेटघाट गरिरहेका छन् ।

अहिले समानुपातिक सांसद चयन, संसदीय दलको नेतृत्व प्रक्रिया मिलाउने तथा सम्भावित मन्त्रिपरिषद् गठनबारे आन्तरिक छलफल भइरहेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फ पठाउने उम्मेदवारको सूची तीन दिनभित्र पठाउन दलहरूलाई पत्र पठाएपछि रास्वपाले त्यसलाई टुंग्याउने तयारी गरिरहेको छ ।

स्रोतका अनुसार पार्टीको विद्यमान विधानले बालेनलाई प्रधानमन्त्री बनाउन सहज नहुने देखिएकाले त्यसलाई मिलाउन विधान संशोधन गर्ने विषयमा पनि पार्टीभित्र छलफल भइरहेको छ ।

 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page