१२ श्रावण २०८३,मंगलवार

राष्ट्रिय सभाका १८ नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ

  • २५ फाल्गुन २०८२,सोमबार Updated
  • / 152 Read

राष्ट्रिय सभाका १८ नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित १८ सांसदले सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा पद तथा गोपनीयताको शपथ लिएका छन्। विशेष समारोहका बीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नव निर्वाचित सदस्यहरूलाई शपथ गराएका हुन्। ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्य प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ। माघ २० गते १९ जना सांसदको कार्यकाल समाप्त भएको थियो भने रिक्त एक सिट राष्ट्रपतिबाट सरकारको सिफारिसमा मनोनीत हुने प्रावधान छ।

माघ ११ गतेको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको थियो। सोही अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित भए भने मधेश प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रन्जित कर्ण र रेखा झा विजयी भएका छन्। बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेम दंगाल निर्वाचित भए भने गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका छन्। कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका हुन्।

सांसदहरूले पद र गोपनीयताको शपथ लिँदा आगामी कार्यकालमा जिम्मेवारी र पारदर्शिताप्रति प्रतिबद्ध हुने अपेक्षा गरिएको छ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page