१ बैशाख २०८३,मंगलवार

मुस्ताङमा चौथोपटक हिमपात, पर्यटन र कृषि क्षेत्रमा सकारात्मक प्रभावको अपेक्षा

  • २ चैत्र २०८२,सोमबार Updated
  • / 63 Read

मुस्ताङमा चौथोपटक हिमपात, पर्यटन र कृषि क्षेत्रमा सकारात्मक प्रभावको अपेक्षा

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा पुनः हिमपात भएको छ । हिमपात भएपछि कृषक तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, ठिनी लगायत जिल्लाका विभिन्न स्थानमा हिमपात भएको हो । विशेषगरी मुक्तिनाथ क्षेत्र, ठिनी भ्यु टावर आसपास तथा उपल्लो मुस्ताङका क्षेत्रमा हिउँ जमेको जनाइएको छ ।

हिमपातसँगै मुस्ताङमा हिउँ खेल्न आउने आन्तरिक पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ । जोमसोमका पर्यटन व्यवसायी निशान तुलाचनका अनुसार हिमपातपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्ने गर्दछ ।

यस वर्ष मुस्ताङमा चौथोपटक हिमपात भएको हो । हिमपात र वर्षाले चिसो बढाए पनि कृषक भने खुसी देखिएका छन् । वर्षा तथा हिमपातले खेतबारीमा प्राकृतिक सिँचाइ हुने र जमिनमा राखिएको मल भिजेर बिरुवालाई आवश्यक पोषक तत्व उपलब्ध हुने भएकाले खेतीपातीका लागि फाइदा पुग्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले बताए ।

स्थानीय कृषक पाल्चाङ्ग गुरुङका अनुसार हिमपातपछि हिउँ पग्लिएर खेतबारीमा पुगेपछि मल राम्रोसँग घुल्ने र त्यसले बोटबिरुवाको वृद्धि तथा उत्पादन बढाउन मद्दत पुग्छ ।

घरपझोङ गाउँपालिका कृषि विकास शाखा प्रमुख रोशन थकालीका अनुसार स्याउको मुना फुट्नका लागि आवश्यक माइनस तापक्रम चाहिने भएकाले यसपटकको हिमपात स्याउ खेतीका लागि लाभदायक हुने अपेक्षा गरिएको छ ।

मुस्ताङमा स्याउ, जौ, गहुँ, उवा र फापर प्रमुख बालीका रूपमा लगाइन्छ । कृषकहरूले यस वर्षको हिमपातले ती बालीको उत्पादनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरेका छन् ।

 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page