मध्यपूर्वको द्वन्द्वले भारतमा ग्यास संकट, होटल–रेस्टुरेन्ट उद्योग प्रभावित
- २६ फाल्गुन २०८२,मंगलवार Updated
- / 98 Read
काठमाडौं । मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण विश्वव्यापी प्राकृतिक ग्यास आपूर्ति शृंखलामा अवरोध आउँदा भारतमा ग्यास आपूर्ति संकट देखिन थालेको छ। आपूर्ति घटेसँगै विशेषगरी होटल तथा रेस्टुरेन्ट व्यवसाय प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
भारतका विभिन्न राज्यमा होटल व्यवसायीहरूले व्यावसायिक ग्यास सिलिन्डर अभावका कारण दैनिक सञ्चालनमै समस्या भइरहेको बताएका छन्। कर्नाटकका होटल व्यवसायीहरूका अनुसार सीमित आपूर्तिका कारण धेरै होटलहरू पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको छ। होटल ओनर्स एसोसिएसनका निर्देशक सन्तोष माल्नाडले सरकारले स्वास्थ्य, कृषि र शिक्षाजस्ता प्राथमिकता क्षेत्रमा ग्यास आपूर्ति केन्द्रित गर्दा होटल उद्योग संकटमा परेको बताएका छन्।
उनका अनुसार होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि व्यावसायिक ग्यास सिलिन्डर मुख्य ऊर्जा स्रोत भएकाले नियमित आपूर्ति नभए व्यवसाय सञ्चालन गर्न कठिन हुने अवस्था आएको छ। उनले होटल उद्योगलाई पनि आवश्यक सेवा अन्तर्गत समेटेर नियमित ग्यास आपूर्ति सुनिश्चित गर्न केन्द्र सरकारसँग माग गरेका छन्। साथै, १९ केजीको व्यावसायिक ग्यास सिलिन्डरमा दिइँदै आएको १५० रुपैयाँ छुट हटाइएको र थप १४५ रुपैयाँ मूल्य वृद्धि गरिएको विषयमा पनि व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।
तमिलनाडु ट्रेडर्स युनियन फेडेरेसनले पनि राज्यभर एलपीजी अभाव देखिन थालेको जनाएको छ। संघका नेता विक्रमराजा राजाका अनुसार विशेषगरी साना होटल तथा साना खाद्य व्यवसायहरू यस संकटबाट सबैभन्दा बढी प्रभावित भइरहेका छन्। सीमित आपूर्तिका कारण चेन्नईसहित तमिलनाडुका विभिन्न स्थानमा केही होटलहरूले मेनुमा रहेका परिकार घटाएर उपलब्ध ग्यासको आधारमा मात्रै सेवा सञ्चालन गर्न थालेका छन्।
यद्यपि सम्बन्धित निकायले घरेलु उपभोक्ताका लागि एलपीजी सिलिन्डर आपूर्तिमा भने कुनै समस्या नरहेको जनाएको छ। एलपीजी एसोसिएसनका राष्ट्रिय उपाध्यक्ष आरके गुप्ताका अनुसार तेल कम्पनीहरूले घरेलु ग्यासको आपूर्ति नियमित रूपमा जारी राखेका छन्, तर व्यावसायिक सिलिन्डर वितरण केही समयका लागि प्रभावित भएको छ। अस्पताल र शैक्षिक संस्थालाई भने अपवादका रूपमा आपूर्ति जारी राखिएको उनले बताए।
यसैबीच भारत सरकारले प्राकृतिक ग्यास आपूर्ति व्यवस्थापनका लागि नयाँ नियम लागू गर्ने निर्णय गरेको छ। पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्व आपूर्ति शृंखला प्रभावित भएपछि सरकारले प्राथमिकता क्षेत्रलाई ध्यानमा राख्दै ग्यास वितरण र उपयोग व्यवस्थापन गर्ने नीति अघि सारेको हो।
सरकारी सूचनाअनुसार मध्यपूर्वको युद्धका कारण हर्मुज जलमार्ग हुँदै हुने तरल प्राकृतिक ग्यास ढुवानी प्रभावित भएको छ। यसका कारण केही आपूर्तिकर्ताले ‘फोर्स मेज्योर’ लागू गर्दै ग्यासलाई प्राथमिकता क्षेत्रतर्फ मोड्न थालेका छन्। विश्लेषकहरूका अनुसार मध्यपूर्वमा जारी द्वन्द्व लामो समयसम्म जारी रहे ऊर्जा आपूर्तिमा थप दबाब पर्ने र त्यसको असर दक्षिण एसियाली अर्थतन्त्रमा समेत देखिन सक्नेछ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR