५ बैशाख २०८३,शनिबार

राष्ट्रिय परिचयपत्र नम्बरमै आधारित हुने स्वास्थ्य बीमा सेवा

  • २ चैत्र २०८२,सोमबार Updated
  • / 26 Read

राष्ट्रिय परिचयपत्र नम्बरमै आधारित हुने स्वास्थ्य बीमा सेवा

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यसहित स्वास्थ्य बीमा बोर्डले अब स्वास्थ्य बीमालाई राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बरमा आधारित बनाउने तयारी गरेको छ।

यसका लागि स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सहकार्य सुरु भएको छ। दुई निकायबीच भएको समझदारीअनुसार राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीसँग जोडिनेछ। समझदारीपत्रमा विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार सहकार्यपछि स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रिया क्रमशः अनलाइनमार्फत सञ्चालन गर्ने तयारी गरिएको छ। बोर्डले चैत २५ भित्र नयाँ दर्ता अनलाइनमार्फत सुरु गर्ने लक्ष्यसहित तयारी गरिरहेको उनले बताए।

उनका अनुसार अब स्वास्थ्य बीमाको छुट्टै कार्डको सट्टा नागरिकको राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा सेवा प्रदान गर्ने प्रणाली लागू गर्ने योजना छ। यस प्रणाली लागू भएपछि राष्ट्रिय परिचयपत्रको डाटाबेससँग स्वास्थ्य बीमा कार्यक्रम जोडिने भएकाले डाटा प्रमाणीकरण सहज हुने, दोहोरो दर्ता कम हुने तथा कार्डको दुरुपयोग घट्ने अपेक्षा गरिएको छ।

हाल देशभर करिब एक करोड नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन्। तर म्यानुअल प्रणालीका कारण कतिपय स्थानमा एउटै व्यक्तिको विवरण दोहोरिने, उमेर वा व्यक्तिगत विवरण नमिल्ने तथा गलत प्रयोग हुने समस्या देखिँदै आएको छ। एनआईडी नम्बरमा आधारित प्रणाली लागू भएपछि यस्ता समस्या धेरै हदसम्म समाधान हुने बोर्डको विश्वास छ।

डिजिटल प्रणाली विस्तार भएसँगै नागरिकले अनलाइनमार्फत नै स्वास्थ्य बीमामा आबद्ध हुने वा नवीकरण गर्ने सुविधा पाउनेछन्। भविष्यमा सेवा लिँदा बायोमेट्रिक प्रमाणीकरणसमेत लागू गर्ने योजना रहेको बोर्डले जनाएको छ।

नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियामा हुने झन्झट घट्ने र परिचयपत्रमा भएकै विवरणका आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रमा छिटो सेवा पाउने अपेक्षा गरिएको छ।

 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page