नागरिकको सेवामा तल्लीन हुन कर्मचारीलाई प्रहरी महानिरीक्षकको निर्देशन :
- ७ कार्तिक २०८१,बुधबार Updated
- / 221 Read
काठमाडौँ कार्तिक ७ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी संगठनको छविलाई उच्च राख्दै व्यावसायिक एवम् निष्ठावान भई नागरिकको सेवामा सबै प्रहरी कर्मचारीहरू तल्लीन हुन निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त निर्देशन दिएका हुन् । प्रहरी महानिरीक्षक कुँवरले सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने बताउँदै विस्फोटक पदार्थ ओसारपसार नियन्त्रण लगायत अन्य आपराधिक क्रियाकलाप न्यूनिकरणमा समेत क्रियाशील हुन निर्देशन दिए । व्यक्तिगत स्वार्थलाई त्यागेर आफ्नो कर्तव्यमा आधारित भई उत्कृष्ट रूपमा कार्य गर्नुपर्ने चर्चा गर्दै हिरासत व्यवस्थापनमा समेत थप संवेदनशील भई कार्य गर्न उनले निर्देशन दिए । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR