सामा चकेवा पर्वको रौनक : मिथिलाञ्चलमा
- २५ कार्तिक २०८१,आईतवार Updated
- / 228 Read
धनुषा कात्तिक २५ । मिथिलाञ्चलका चेलीबेटी अहिले लोक पर्व सामा चकेवा पर्वको अवसर पारेर माटोबाट निर्मित कलात्मक मूर्तिसहित लोकगीतको भाकामा झुम्मिँदा सन्ध्याकालीन शरद ऋतुको शीतल वातावरणलाई मनमोहक बनाइरहेको छ । कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट सुरु भई १० दिनसम्म यो पर्व मिथिलाञ्चलका चेलीबेटीले मनाउने गर्दछन् । कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न सुरिला गीतहरू गाएर सखी सहेलीहरुसँगै सामा चकेवा पर्व मनाइन्छ । यो पर्वको वास्तविक नाम श्यामाचकेवा रहेपनि लोकभाषामा यसलाई सामाचकेवा भन्ने गरिन्छ । सामा चकेवामा श्रीमान्—श्रीमतीको सम्बन्धमा चुगली लगाउने चारुवक्र पात्र अर्थात चुगलाको जुँगालाई डढाउने गरिन्छ । बहिनी मिलेर आगो लगाई डढाउँदै घृणाले गीत गाउछन् । यसका साथै आफ्नो भाइको पुरुषार्थको गीतकै माध्यमबाट प्रशंसा समेत गर्ने गर्दछन् । कार्तिक पूर्णिमाका दिन बहिनी आफ्नो भाइलाई निमन्त्रण दिन्छिन् । भाइले घुँडामा राखेर सबै मूर्ति तोड्छन् र ती मूर्तिहरूलाई जोतेको खेतमा विसर्जन गरिन्छ । बहिनीले भाईलाई चिउरा, दही, मिष्ठान्न, सख्खरको भोजन गराउँछन् । यसलाई मैथिलीमा ‘फाँरभरी’ भन्ने गरिन्छ । सामा चकेवा पर्वलाई भाई बहिनी बिचको अगाध प्रेमको प्रतीकको रूपमा लिइन्छ । पछिल्लो समय समाजमा बढ्दै गइरहेको कटुताका बिच यो पर्वले प्रेमको सन्देश दिने गरेको छ । भगवान् कृष्णका छोरा साम्ब र छोरी श्यामाबीचको स्नेहको प्रतीकको रूपमा यो पर्वलाई लिइन्छ । यो पर्व श्यामा र साम्ब बिचको अगाध स्नेहकै स्मरणमा मिथिलाञ्चलमा मनाइने गरिन्छ । सामा चकेवा पर्वको विषयमा पद्यमपुराण, स्कन्दपुराण लगायतका धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR