११ श्रावण २०८३,सोमबार

कर्मचारीको आन्दोलनले : नगराईन नगरपालिका एक महिनादेखि ठप्प

  • ६ मंसिर २०८१,बिहीबार Updated
  • / 213 Read

कर्मचारीको आन्दोलनले : नगराईन नगरपालिका एक महिनादेखि ठप्प

जनकपुरधाम मंसिर ६ । शिक्षकहरू बिहान १० बजेभित्र विद्यालय पुगिसक्नु पर्ने हो । तर, नगराईनका सामुदायिक विद्यालयका शिक्षकहरू त्यही समय नगरपालिकाको कार्यालय पुग्छन् । विद्यालयमा अध्यापन गराउने समयमा शिक्षकहरू नगरपालिका कार्यालयको मूलद्वारमा धर्ना बस्छन् । ४ बजेपछि फर्किन्छन् । झण्डै एक महिनादेखि उनीहरूले यही कार्य गरिरहेका छन् । शिक्षकको आन्दोलनले नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयका कम्तिमा ३ हजार विद्यार्थी पठनपाठनबाट बञ्चित छन् । आन्दोलनको कारण हो, साउन १ यता शिक्षकहरु तलबभत्ता नपाउनु । कतिदिनसम्म भोको पेट विद्यार्थीलाई पढाउनु ? दशैं तिहार, छठ जस्ता ठूलाठूला चाडपर्व आएर गयो । हामीलाई पर्व जस्तो लागेन । चार महिनादेखि तलबभत्ता पाइएको छैन । हाम्रो पनि परिवार बालबच्चा छन्’, राजेश्वर निधि माविका प्रधानाध्यापक प्रमेन्द्रकुमार निधिले भने । नगराईन नगरपालिका कार्यालयले तलबभत्ता नदिएको भन्दै शिक्षकसँगै कर्मचारी, स्वास्थ्यकर्मीहरु गत कात्तिक ८ गतेदेखि आन्दोलनमा छन् । नगरपालिका कार्यालयले हालसम्म शिक्षक र नगरपालिकाका  कर्मचारीको तलब खुवाउन सकेको छैन । यसो हुनुको कारण हो, नगरपालिकाको चालु आर्थिक वर्ष २०८१/०८२ को नगरसभा हुन नसक्नु । यसैले गर्दा शिक्षक, कर्मचारी र जनप्रतिनिधि तलबभत्ता खान पाएका छैनन् । स्थानीय सरकार सञ्चालन कार्यविधि संशोधनसम्बन्धी विवादले नगराईनको नगरसभा हुन सकेको छैन । यसै कार्यविधिको विषयमा २०७९ एमाले, शिक्षक र कर्मचारी आन्दोलनले ५४ दिन पठनपाठन र कार्यालहरु बन्द भएको थियो । त्यसबेला पनि समयमा तलबभत्ता खान नपाउँदा यस्तो अवस्था सिर्जना भएको थियो । शिक्षक,  कर्मचारीहरुको लामो आन्दोलन गर्दा ३ माघ २०७९ मा दुई पक्षीय सम्झौता भएको थियो । जसमा अब उप्रान्त शिक्षक, कर्मचारीहरुलाई यस विषयमा आन्दोलन गर्न नपर्ने लिखित प्रतिबद्धता गरी हस्ताक्षर भएको थियो । तर, फेरि पनि सोही समस्या दोहिरिएकोले मर्कामा परी बाध्य भएर आन्दोलन गर्नु परेको संघर्ष समितिका अध्यक्ष विशेश्वरप्रसाद साहले बताए । नगरपालिका वडा नं. ९ का वडाध्यक्ष प्रमोद राउतका अनुसार २०७९ मा लामो आन्दोलन पश्चात् मेयर कार्यविधि संशोधन गर्ने सहमति गरेका थिए । तर, अहिलेसम्म नगरेपछि एमालेले पुनः अडान दोहोर्‍याएको हो । ‘त्यबेला लामो समय आन्दोलनले संशोधन गर्ने सहमति भयो । तर आजभोलि भन्दाभन्दै अहिलेसम्म गरेन । त्यसकारण यसपटक संशोधन नभएसम्म नगरसभामा सहभागी नहुने हाम्रो अडान हो,’ उनले भने ।
बुधबार बसेको कार्यपालिका बैठकमा  कार्यविधि संशोधन गर्ने सहमति जुटेको उनले बताए । अब संशोधन गरेर नगरसभा हुने र समस्याहरु समाधान हुने उनको भनाइ छ । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page