विभिन्न जिल्लाका विद्यालयहरु बन्द : चिसोले तराई-मधेसको जनजीवन प्रभावित,
- २४ पुष २०८१,बुधबार Updated
- / 210 Read
जनकपुर पुस २४। तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ। चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिका बढी प्रभावित भएका छन्। मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कँडेलले मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जानकारी दिए। शीतलहरले जनजीवन प्रभावित भएपछि जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
वीरगन्ज महानगर क्षेत्रका विद्यालय तीन दिन बन्द:
वीरगन्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ। महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो।महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिए। त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गत पुस २१ गते सार्वजनिक सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिए।
गौरका विद्यालय ३ दिनका लागि बन्द:
गौर नगरपालिकाले अत्यधिक चिसो बढेको भन्दै तीन दिन गौर नगर क्षेत्रका विद्यालय बन्द गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास ठाकुरले जानकारी दिए। चिसो र शीतलहरले रौतहटको व्यापारिक केन्द्र चन्द्रनिगाहपुर, गौर, गरुडा, कटहरिया, समनपुरमा दिउँसो पनि चहलपहल देखिँदैन। चिसोले नागरिक प्रभावित बन्न थालेपछि जिल्ला विपत् व्यवस्थापन समितिले आगो बाल्नका लागि टोलटोलमा दाउरा वितरण गर्ने निर्णय गरेको छ। सशस्त्र प्रहरी फतुवा बेस क्यापले पनि आज आफ्नो क्षेत्रअन्तर्गत विभिन्न चोकमा दाउरा बाल्न सुरु गरेको छ। सशस्त्र प्रहरीले राजपुर, फतुवा महेशपुरलगायत चोकमा दाउरा बाल्ने व्यवस्था गरेको छ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR