११ श्रावण २०८३,सोमबार

उच्च अदालत जनकपुरमा १३औं पटक तोकियो पेसी : थमन बिक हत्या प्रकरणको मुद्दा,

  • २ माघ २०८१,बुधबार Updated
  • / 216 Read

उच्च अदालत जनकपुरमा १३औं पटक तोकियो पेसी : थमन बिक हत्या प्रकरणको मुद्दा,

जनकपुरधाम माघ २। सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्दामा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका निलम्बित प्रदेश सांसद अभिराम शर्माको मुद्दाको पेस आज तोकिएको छ । यो मुद्दामा १३औं पटक पेसी तोकिएको हो । ०७२ भदौ २५ मा भएको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका सांसद शर्माको तर्फबाट उनका पिता महेन्द्र शर्माले २०८१ वैशाख ९ गते उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। तर, यो मुद्दा पटकपटक स्थगित हुँदै आएको छ । पेसी स्थगित हुने घटनाले कानूनी व्यवसायीहरूबीच सामान्य सेटिङ नमिलेका हुनसक्ने आरोप लाग्ने गरेको छ । यसअघि २०८१ पुस १७ मा महेन्द्रनाथ उपाध्याय र ध्रुव कुमार पियाको संयुक्त इजलासमा पेसी परेपनि हेर्ने नभ्याइनेमा परेको थियो । महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ मा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिए पनि अभिराम शर्मालाई न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले जन्मकैदको सजाय सुनाएको थियो। सोही इजलासले प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायसहित सात जनालाई पनि जन्मकैदको फैसला सुनाएको थियो। २०७२ भदौ २५ मा महोत्तरीको जलेश्वरमा मधेशी मोर्चाका कार्यकर्ताले सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई नियन्त्रणमा लिएर लाठी, मुक्का, लात्तीले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उपचारका लागि जनकपुर लैजाने क्रममा आन्दोलित भीडले एम्बुलेन्सबाट विकलाई निकालेर हत्या गरेको प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको छ। २०७२ फागुन २७ मा महोत्तरी जिल्ला अदालतमा यो मुद्दामा २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगजनीको मुद्दा दर्ता गरिएको थियो ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page