११ श्रावण २०८३,सोमबार

सातै प्रदेशमा पुग्यो एचपीभी खोप :

  • ३ माघ २०८१,बिहीबार Updated
  • / 199 Read

सातै प्रदेशमा पुग्यो एचपीभी खोप :

काठमाडौं माघ ३। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले जानकारी दिए । उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए । सङ्घीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने जनाएको छ । महाशाखाका निर्देशक डा रायमाझीले कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ८० मात्रा, मधेशमा तीन लाख ८० हजार चार सय ६०, बागमती हेटौँडाका लागि एक लाख २५ हजार आठ सय, बागमती भक्तपुरका लागि दुई लाख १८ हजार दुई सय ८० मात्रा पठाइसकिएको जानकारी दिए । गण्डकी प्रदेशमा एक लाख ३० हजार आठ सय ७० मात्रा, लुम्बिनीमा दुई लाख ९८ हजार नौ सय १० मात्रा, कर्णालीमा एक लाख २४ हजार चार सय मात्रा र सुदूरपश्चिममा एक लाख ८७ हजार एक सय २० मात्रा खोप पठाइएको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको सङ्क्रमण रहेकाले त्यसका विरुद्ध खोप लगाउनुपर्ने डा. रायमाझीले बताए । नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ । झापामा ५५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार नौ सय ९९ जना किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए । विद्यालयमा रहेका कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइने उनले बताए । ‘खोप अभियानका लागि तथ्याङ्कल सङ्कलन, जनशक्ति व्यवस्थापनलगायत काम भइरहेको छ’, उनले भने । झापामा माघ २२ गतेदेखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुनेछ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page