११ श्रावण २०८३,सोमबार

वीरगञ्जको व्यापारिक पसलहरु बन्द ;

  • १३ चैत्र २०८१,बिहीबार Updated
  • / 190 Read

वीरगञ्जको व्यापारिक पसलहरु बन्द ;

 चैत १४ । वीरगञ्ज बचाउ सङ्घर्ष समितिले वीरगञ्जको गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक विस्तारको विरोधमा मुख्य सडक (मेनरोड) खण्डका व्यापारिक पसल बन्द गराएका छन् ।

सर्वोच्च अदालतले सडक विस्तार विरुद्धको रिट खारेज गरेसँगै सडक डिभिजन हेटौँडाले सो खण्डमा पर्ने सडकको सीमाङ्कन गर्न यही चैत ८ गते पत्राचार गरेको थियो । सो पत्राचारसँगै यहाँका स्थानीयवासी आन्दोलित भएका हुन् । समितिका अनुसार वीरगञ्जका मुख्य व्यापारिक क्षेत्रका बजार दिउँसो १२ बजेसम्म बन्द गरिने जनाइएको छ ।

वीरगञ्ज बचाउ सङ्घर्ष समितिका संयोजक तथा वीरगञ्ज महानगर–९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ताले सर्वोच्च अदालतको पूर्णपाठ नआउँदै डिभिजन सडक हेटौँडाले सडकको सीमाङ्कनका लागि पत्राचार गरेकोले आन्दोलन अघि बढाएको जानकारी दिए ।

वीरगञ्ज महानगर–६ का महेशराम चौरसियाले सडक विस्तारले आफ्नो चार धुरको घरसहित जग्गा एक हात पनि नरहने गुनासो गरे । ‘पहिलाको सडक विस्तारले साढे दुई धुर जग्गा गइसकेको छ,” उनले भने,‘अब फेरि २५–२५ मिटर सडक विस्तार गर्दा त एक हात पनि बाँकी रहँदैन ।’

सडक डिभिजन हेटौँडाका डिभिजन प्रमुख गुरूप्रसाद अधिकारीले सर्वोच्च अदालतको पूर्णपाठ आउनु अगावै त्रिभुवन राजपथ अन्र्तगत पर्ने गण्डकचोक–पावरहाउस–घण्टाघर–बिर्ता–रजतजयन्तीचोक–मितेरी पुलसम्मको सडक सीमा २५÷२५ मिटरको क्षेत्र सीमाङ्कन गर्न पत्राचार गरेको बताए ।

गत फागुन २८ गते सर्वोच्च अदालतले वीरगञ्जको मुख्यसडक विस्तार विरुद्ध रिट खारेजी गरिदिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन २८ गते रिट निवेदकको पाँच वटै रिट खारेज गरेसँगै डिभिजन सडक कार्यालय हेटौँडालाई वीरगञ्जको उक्त सडकखण्डको सडक दायाँबायाँ २५–२५ मिटर चौडा गर्ने बाटो खुलेको हो ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page