११ श्रावण २०८३,सोमबार

प्रधानमन्त्री ओली : भोलि भरतपुरको ६ लेन सडक उदघाटन गर्ने, नारायणगढ-बुटवल सडक निरीक्षण पनि गर्ने

  • ४ बैशाख २०८२,बिहीबार Updated
  • / 259 Read

प्रधानमन्त्री ओली : भोलि भरतपुरको ६ लेन सडक उदघाटन गर्ने, नारायणगढ-बुटवल सडक निरीक्षण पनि गर्ने

चितवन वैशाख ४ ।  आकर्षक र सुन्दर देखिएको चितवन भरतपुरको गोन्द्राङदेखि पुल्चोक नारायणगढसम्मको ६ लेन सडक उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली भोलि चितवन आउने भएका छन् ।

चितवन आएकै बेला प्रधानमन्त्री ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन पनि उद्घाटन गर्ने र नारायणगढ-बुटवल सडक निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।

नारायणगढ–गोन्द्राङ ६ लेन सडक निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले नै २०७७ माघ २७ गते शिलान्यास गरेका थिए । शिलान्यास गरेको ठाउँ भरतपुर विमानस्थल अगाडि नै उद्घाटन कार्यक्रम राखिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले गत चैत २५ गते नै ६ लेन सडक उदघाटन गर्ने तयारी थियो । तर उनको कार्यव्यस्ततालाई कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको थियो ।

शुक्रबार सडक उदघाटन लगायतका कार्यक्रमका लागि प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टर चढेर चितवन आउने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले भरतपुर–गोन्द्राङ सडक र सिटी हलको शिलान्यास एकैदिन गरेका थिए । एसियन मापदण्डको हाइवे अन्तर्गत ६.०८ किलोमिटर लामो सडक निर्माणको काम गत पुस २८ गते नै सकिए पनि सिटी हल भने अझै तयार भएको छैन ।

भरतपुरबाट नारायणगढ झर्ने ठाडो ओरालो काटेर त्यसको ‘स्लोप’ घटाइएको छ । भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १.२ मिटरसम्मले घटाइएको हो । जसले गर्दा दुर्घटना हुने जोखिमसमेत कम घटेको छ ।

५० मिटर चौडाइ रहने ६ लेन सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र विद्युत अन्डरग्राउन्ड गरिएको छ । चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी पुंगी खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा जाने गरी ड्रेन तयार गरिएको छ ।

सडकको दायाँबायाँ ११.५/११.५ मिटरको पिच गरिएको छ । त्यसको विचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ । मेडियनमा दूबो लगाउने र आकर्षक फूलहरुका बिरुवा रोप्ने काम भएको छ । सर्भिस लेन बाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ बनाइएको छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरूङले शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले गाउँपालिका भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । सोही अवसरमा उनले गाउँपालिकाका सक्रिय पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।

प्रधानमन्त्री ओलीले त्यस लगत्तै नारायणगढ–बुटवल सडकखण्डको अनुगमन/निरीक्षण गर्ने कार्यक्रम छ । साथै नवलपुरका जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम पनि राखिएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page