११ श्रावण २०८३,सोमबार

विद्यार्थी कुलतमा ; लामो समय विद्यालय बन्द हुँदा

  • ९ बैशाख २०८२,मंगलवार Updated
  • / 182 Read

विद्यार्थी कुलतमा ; लामो समय विद्यालय बन्द हुँदा

इलाम वैशाख ९ । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन आएपछि अभिभावकले चासो राखे । निगरानी बढाएपछि थाहा भयो, बालकले लागुऔषध प्रयोग गर्न थालेछन् । “विद्यालय बन्द हुँदा साथीहरू भेला भएर फुटबल खेल्न गएँ भन्नेमा भर परियो । तर, नानी त कुलतमा फसिसकेको रहेछ”, बालककी हजुरआमाले भनिन्, “विद्यालय जाँदा यस्तो थिएन, अहिले छुट्टी छ, साथीसङ्गतले बिगार्ने रहेछ ।”

सूर्योदय नगरपालिका–७ का गणेश भट्टराईले तत्काल विद्यालय खुल्ने वातावरण नबने बालबालिकालाई असर पुग्ने बताए । “सहरका मात्र होइन, गाउँघरका बच्चा पनि गलत क्रियाकलापमा सग्लग्न थालेका छन् । विद्यालय नहुँदा घरमा काम छैन, खराब सङ्गत र स्वतन्त्रताले धेरै बिग्रिसके । यो विषय संवेदनशील छ ।”

जिल्लाका प्रायः बजार क्षेत्र र कतिपय गाउँमा समेत लागुऔषध प्रयोगकर्ताको सङ्ख्या ‘चुनौतीपूर्ण’ रूपमा बढिरहेको सरोकारवाला बताउँछन् । बाल्यावस्था र किशोरावस्थाका बालबालिकालाई यसको कुलतबाट जोगाउन गाह्रो भइरहेको मानवअधिकार मञ्च नेपालका कार्याकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए ।

वैशाख लागेसँगै नयाँ शैक्षिकसत्र सुरु भयो । यतिबेला सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना धमाधम हुनुपर्ने हो, तर हुन सकेको छैन । विद्यालय बन्द छ, विद्यार्थी घरघरमा छन् । सरकारले माग पूरा गर्छ/गर्दैन भनेर शिक्षकलाई चिन्ता छ । तर, अभिभावकलाई बालबच्चा बिग्रिएकामा पिरलो छ ।

हिमालय माद्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरिदिएर तत्काल विद्यालय खुल्ने वातावरण बनाउनुपर्ने बताए । “यतिका दिनदेखि शिक्षक सडकमा हुँदा बालबालिका पक्कै बिचल्ली भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले प्रहरीले लागुऔषध नियन्त्रणका लागि विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेको बताए । उनले भने, “लागुऔषधबाट बालबालिकालाई बचाउन प्रहरीले विद्यालय र अन्य ठाउँमा पनि चेतनामूलक कार्यक्रम गरिरहेकै हुन्छ, जिल्लामा बाहिरबाट लागुऔषध भित्रिन र यहाँ प्रयोग गर्न नदिन प्रहरी सधैँ क्रियाशील छ ।” 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page