बाल यौन शोषण नेटवर्क चलाएको अभियोग : अमेरिकामा २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी
- १९ बैशाख २०८२,शुक्रबार Updated
- / 219 Read
वैशाख १९ । अमेरिकाको नर्थ क्यारोलिना निवासी २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोग लगाइएको छ। हिंसात्मक अनलाइन सञ्जाल सञ्चालन गरेको अभियोगमा उनलाई पक्राउ परेपछि अहिलेसम्मकै सबैभन्दा जघन्य अनलाइन बाल शोषण उद्यमहरूमध्ये एक सञ्चालन गरेको अभियोग लगाइएको हो।
उनीहरूले अनलाइनमा कमजोर बालबालिकाहरूलाई लक्षित गर्दै उनीहरूलाई उक्साएर र धम्क्याएर अश्लील सामग्रीहरू उत्पादन गर्न बाध्य पारेको अभियोग लगाइएको छ। केही सामग्री १३ वर्षमुनिका बालबालिकाहरूको समेत रहेको जनाइएको छ। उनीहरूले कम्तीमा ८ नाबालिगको शोषण गरेको अभियोग लगाइएको छ।
यस मुद्दामा लगाइएका आरोपहरू विचलित पार्ने मात्र नभई हरेक अभिभावकको लागि दुःस्वप्न समेत रहेको डिस्ट्रिक्ट अफ कोलम्बियाका युएस एटोर्नी एडवर्ड आर मार्टिन जुनियरले समाचार विज्ञप्तिमा बताएका छन्। उनीहरूले शोषण गरिएका भनिएका पीडितहरूको संख्या र भ्रष्टताको गहिराइ अचम्मलाग्दो रहेको उनको भनाइ छ।
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले विज्ञप्ति जारी गर्दै ‘टिप्पी’ उपनामले चिनिने २० वर्षीय प्रसान नेपाललाई पक्राउ गरेको उल्लेख गरेको छ। नेपालसँगै २१ वर्षीय लियोनिडास वारागियानिसलाई पनि पक्राउ गरिएको छ। उनीहरूविरुद्धको अभियोग प्रमाणित भएमा उनीहरूले आफ्नो बाँकी जीवन जेलमा बिताउने डिपार्टमेन्ट अफ जस्टिसको वक्तव्यमा उल्लेख छ।
‘७६४’ भनेर चिनिने यो सञ्जालले कमजोर नाबालिगहरूको शोषणमार्फत सभ्य समाजलाई नष्ट गर्न खोजेको र यसका गतिविधिहरू २०२० को अन्त्यदेखि यस वर्षको सुरुसम्म भएको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ। नेपालले ७६४ भित्र एउटा मुख्य उपसमूहको नेतृत्व गरेका थिए जुन इन्क्रिप्टेड मेसेजिङ एपहरू मार्फत सञ्चालन गरिएको थियो। उनीहरूले बाल यौन दुर्व्यवहार सामग्रीको उत्पादन र वितरणमा निर्देशन दिएको र त्यसमा भाग लिएको आरोप छ।
मंगलबार अदालतमा नेपालले ७६४ नेटवर्क सिर्जना गरेको र अझै पनि नेटवर्क नियन्त्रण गरिरहेको स्वीकार गरेका थिए। नेपालको परिवार पनि अदालतमा उपस्थित थियो जसमा उनका आमा, बुबा, एक दिदी र कान्छो भाइ थिए। उनकी दिदीले नेपाल ७६४ नेटवर्कमा संलग्न भएको आफूहरूलाई थाहा नभएको बताएकी थिइन्। मुद्दा नर्थ क्यारोलिनाबाट वासिङ्टन डिसीमा स्थानान्तरण गरिएको थियो।
यदि नेपाललाई आरोप लगाइएको अपराधमा दोषी ठहर गरियो भने उनले अधिकतम आजीवन कारावासको सामना गर्नुपर्ने महान्यायाधिवक्ता पामेला बोन्डीले बताएकी छिन्।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR