१२ श्रावण २०८३,मंगलवार

सिरहा : युवकमाथि खुकुरी प्रहार मोटरसाइकलले छोएको निहुँमा

  • १९ बैशाख २०८२,शुक्रबार Updated
  • / 260 Read

सिरहा : युवकमाथि खुकुरी प्रहार मोटरसाइकलले छोएको निहुँमा

जनकपुरधाम वैशाख १९ । सिरहामा मोटरसाइकलले छोएको निहुँमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । सिरहाको लहान नगरपालिका ३ दंग्राहा टोलका २७ वर्षीय देवकुमार महतोमाथि खुकुरी प्रहार भएको हो ।

घटनामा संलग्न ६२ वर्षीय जिवछ महतोसहित उनका परिवारका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने एकजना भने फरार छन् ।

जिवछसँगै उनकी श्रीमती ६० वर्षीया सीतादेवी महतो र छोरा २१ वर्षीय मनिष महतोलाई प्रहरीले पक्राउ गरेको हो । खुकुरी प्रहार गर्ने जिवछका १९ वर्षीय छोरा मुकेश महतो भने फरार रहेको डिएसपी पासवानले जानकारी दिए ।

कुटपिट तथा खुकुरी प्रहारबाट घाइते भएका देवकुमारको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए । उनको टाउको, घाँटी र ढाडमा चोट लागेको छ । अवस्था भने सामान्य रहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिवछका छोरा मनिषले चलाइरहेको मोटरसाइकलले स्थानीय नथुनी महतोका छोरा देवकुमारलाई छोएपछि विवाद भएको थियो । त्यसपछि जिवछ महतोका परिवारका सदस्यहरु मिलेर देवकुमारलाई कुटपिट गरेका थिए । यो घटना बुधबारको भए पनि ढिलोमात्र सार्वजनिक भएको हो । 

पीडित पक्षबाट आक्रमण गर्ने विरुद्ध इलाका प्रहरी कार्यालय लहानमा ज्यान मार्ने उद्योगमा जाहेरी परेको थियो । त्यसपछि प्रहरीले घटनामा संलग्न जिवछसहित तीनजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखेको छ । फरार भएका मुकेशको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page