२०३५ निर्माणका लागि छलफल प्रारम्भ : यूथ भिजन
- २१ बैशाख २०८२,आईतवार Updated
- / 234 Read
काठमाडौँ वैशाख २१ । राष्ट्रिय युवा परिषद्ले यूथ भिजन-२०३५ का लागि सरोकारवालाहरुसँग छलफल प्रारम्भ गरेको छ। सन् २०१५ मा जारी गरिएको यूथ भिजन २०२५ को समयावधि सकिन लागेकाले आउँदो दश वर्षका लागि नयाँ यूथ भिजन निर्माण गर्न छलफल अगाडि बढाइएको परिषद्ले जनाएको छ।
पहिलो चरणमा उपत्यकाका भर्खरै निर्वाचित स्ववियु अध्यक्ष सहितका पदाधिकारीहरूको सहभागितामा भएको नीतिगत छलफलमा यूथ भिजन -२०२५ निर्माण कार्यदलका संयोजक योगेन्द्र शाहीले 'यूथ भिजन -२०३५ मा युवाका सरोकार' शीर्षकमा कार्यपत्र पेस गरेका थिए। कार्यपत्रमा शाहीले युवाको सर्वाङ्गीण विकास गरी देशको सामाजिक आर्थिक रूपान्तरण मार्फत समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सघाउ पुर्याउने लक्ष्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
माओवादी केन्द्रका युवा नेता रमेश मल्लले युवा पलायन रोक्नका लागि उद्यमशीलता र स्वरोजगारमा जोड दिनुपर्ने बताए। मल्लले युवाहरूले मुलुक भित्रै भविष्य देख्नसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरि लम्सालले सबै सरोकारवालाहरुसँगको वृहत् छलफल र अन्तरक्रियापछि समयसापेक्ष यूथ भिजन जारी गरिने बताए।
राष्ट्रिय युवा परिषद्का पूर्व उपाध्यक्ष समेत रहेका एमाले युवा नेता माधवप्रसाद ढुङ्गेलले यूथ भिजन २०२५ को विहङ्गम समीक्षा गरेर मात्र नयाँ तर्फ अघि बढ्नुपर्ने सुझाव दिए। ढुङ्गेलले नेपाल सरकारका विभिन्न मन्त्रालयमा रहेका युवा लक्षित कार्यक्रमलाई समन्वय गरेर अघि बढाउनुपर्ने बताए। नेपाली काङ्ग्रेसका युवा नेता नैनसिंह महरले अबको यूथ भिजनले नेपाली युवाका आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताए। महरले शिक्षालाई श्रम, सिप र प्रविधिसँग जोड्नुपर्ने बताए।
शनिवार उपत्यकामा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले यूथ भिजन २०२५ को समीक्षा गरी सबै सरोकारवालाहरुसँगको छलफलपछि नयाँ यूथ भिजन जारी गरिने बताए। मन्त्री चौधरीले नेपाली युवाका नयाँ आवश्यकता र चाहना समेटेर यूथ भिजन तयार गरिने बताए।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले दिगो विकास लक्ष्य पुरा गर्न युवा सशक्तीकरणमा जोड दिए। बस्नेतले यूथ भिजन २०३५ निर्माणको छलफल प्रारम्भ गरिएको जानकारी दिँदै सबै क्षेत्रका युवाहरूसँग फरक फरक छलफल र अन्तरक्रिया गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा मन्त्रालयका सहसचिव सुवासचन्द्र सिवाकोटी, परिषद सदस्यद्वय विनोद शाही र टिका कंडेल , त्रिभुवन विश्वविद्यालयका स्ववियु अध्यक्ष दिपकराज जोशी, नेपाल ल क्याम्पसका स्ववियु अध्यक्ष समिर रिजाल, पुल्चोक क्याम्पसका स्ववियु अध्यक्ष स्वयम् श्रेष्ठ, सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष नरेन्द्र ठगुन्ना लगायतका स्ववियु पदाधिकारीहरूले युवामैत्री यूथ भिजनमा निर्माणमा आआफ्ना सुझाव र धारणा राखेका थिए।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR