१२ श्रावण २०८३,मंगलवार

कमल थापा : जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं

  • ७ जेष्ठ २०८२,मंगलवार Updated
  • / 257 Read

कमल थापा : जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं

काठमाडौं जेठ ६ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको शान्तिपूर्ण प्रदर्शनको बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्ने बताएका छन् । त्यसका लागि राप्रपासहितका दलहरु एकढिक्का भएर लाखौं जनतालाई सडकमा उतार्ने अभियानमा होमिएको उनले बताए ।

आफूहरु सडकमा उत्रिँदा सरकारले उत्तेजित बनाएर दमनको नीति लिन सक्ने आशंका गर्दै थापाले भने, ‘हाम्रो रणनीति के हो भने यति धेरै जनता सडकमा उतार्नुपर्यो, सरकारले दमन गर्ने सोच्न पनि नसकोस् । हामीले काठमाडौंको सडकमा लाखौं जनता उतार्न सक्यौं भने काठमाडौं ठप्प हुन्छ र कुनै दमनले काम लाग्दैन ।’

उनले आन्दोलन शान्तिपूर्ण हुने बताउँदै अगाडि भने, ‘एकप्रकारले भन्ने हो भने यो भद्र अवज्ञा र सत्याग्रहको स्वरुपमा हुन्छ । हामी भिडन्तमा जाँदैनौं । पक्कै पनि सरकारले भिडन्तमा उतार्न उत्तेजित बनाउनसक्छ । तर हामी संयमित भएर शान्तिपूर्ण रुपमा आन्दोलनलाई अगाडि बढाउँछौं । त्यसकारण भिडन्तबाट होइन, जनताको धेरैभन्दा धेरै उपस्थितिबाटै हामीले यो धरासायी हुन लागेको संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई ढाल्नुपर्ने छ ।’

आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा थापाले काठमाडौं उपत्यकाका प्रत्येक घरमा पुगेर सडकमा उत्रिन आह्वान गर्ने जानकारी गराए ।

यो अभियानको ८ गते बिहान शंखरापुर नगरपालिकालको साँखुमा भेला भएर सुरु गर्ने र काठमाडौं उपत्यकाका १५ वटा पालिकामा पुग्ने योजना बनाइएको छ । अन्तिम दिन जेठ ११ गते भक्तपुरको कमलविनायकमा पुगेर बिसर्जन हुने छ ।

त्यसक्रमा काठमाडौं महानगरका सबै वडामा पुग्ने थापाले बताए । ‘महानगरको ३२ सै वडामा ८–१० दिनको बीचमा पहिलो काम घरदैलो कार्यक्रम नै गर्नुपर्छ । सबै पार्टीका एक ठाउँमा उभिएर, राष्ट्रिय झण्डा बोकेर, प्रत्येक घरमा पुगेर एकपटक सडकमा उत्रिनुस् भन्नुपर्छ ।’

उनले भने, ‘हामी सबै राष्ट्रवादी शक्ति एक ठाउँमा आएका छौं । जनताको बलमा शान्तिपूर्ण ढंगले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना गरेर छाड्नेछौं ।’

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page