११ श्रावण २०८३,सोमबार

जीपीएसमा अवरोधदेखि ब्ल्याकआउटसम्म हुनसक्ने नासाको चेतावनी : सोलार फ्लेयरको खतरा

  • ९ जेष्ठ २०८२,बिहीबार Updated
  • / 312 Read

जीपीएसमा अवरोधदेखि ब्ल्याकआउटसम्म हुनसक्ने नासाको चेतावनी : सोलार फ्लेयरको खतरा

काठमाडौँ जेठ ८। हालसालै सूर्यको अत्यधिक सक्रियता बढेको भन्दै नासाले एक उच्चस्तरीय चेतावनी जारी गर्दै जीपीएस प्रणाली, रेडियो सञ्चार र विद्युत् पूर्वाधारमा असर पर्ने सम्भावनाबारे सतर्क गराएको छ।

यो तीव्र सोलार फ्लेयर मे १४ मा चरम बिन्दुमा पुग्दा युरोप, एसिया र मध्यपूर्वका केही भागहरूमा अस्थायी रेडियो अवरोध ल्याएको थियो। अमेरिकी राष्ट्रिय समुद्र तथा वायुमण्डलीय प्रशासन (एनओएए) का अनुसार, कतिपय क्षेत्रमा उच्च फ्रिक्वेन्सी भएको सञ्चार प्रणाली दश मिनेटसम्म अवरुद्ध भएको थियो।

सूर्य हाल यसको ११ वर्षे सौर्य चक्रको चरम बिन्दुतर्फ उन्मुख भएकाले वैज्ञानिकहरू धेरै अस्थिर सूर्यको धब्बा (सनस्पट) हरूको निगरानी गरिरहेका छन् । यसले थप शक्तिशाली सौर्य आँधी (सोलार स्टोर्म) ल्याउन सक्छन्। पछिल्लो विस्फोटको तीव्रताले विभिन्न अन्तर्राष्ट्रिय अन्तरिक्ष मौसम निकायहरूलाई सतर्कता स्तर बढाउन बाध्य बनाएको छ।

यो चेतावनी २०२५ को हालसम्मकै शक्तिशाली एक्स२.७ स्तरको सोलार फ्लेयर (सौर्य ज्वालाको विस्फोट) देखा परेपछि दिइएको हो । यसलाई नासाको सोलार डाइनामिक्स अब्जर्भेटरीले पत्ता लगाएको थियो।

सोलार फ्लेयर भनेको के हो?
नासाका अनुसार, सोलार फ्लेयर सूर्यबाट अचानक विस्फोट हुने कण, ऊर्जा, चुम्बकीय क्षेत्र र पदार्थहरूको उत्सर्जन हो, जुन सूर्यबाट हाम्रो सौरमण्डलतर्फ प्रक्षिप्त हुन्छ। हालको एक्स२.७-स्तरको सोलार फ्लेयर शक्तिशाली विस्फोटमध्ये एक हो, जसले पृथ्वीको माथिल्लो वायुमण्डलमा तुरुन्तै असर पार्न सक्छ।

एक्स-स्तरका सोलार फ्लेयरहरू सबैभन्दा खतरनाक मानिन्छन्। ‘जब यस्ता सौर्य आँधीहरू पृथ्वीतर्फ निर्देशित हुन्छन्, त्यसले पृथ्वीको चुम्बकीय क्षेत्रमा ठूलो गडबडी ल्याउँछ, जसलाई ‘जिओम्याग्नेटिक स्टर्म’ भनिन्छ । यसले रेडियो ब्ल्याकआउट, विद्युत् कटौती र सुन्दर ‘अरोरा’ जस्ता प्रभावहरू ल्याउन सक्छ,’ नासाले स्पष्ट पारेको छ।

यद्यपि पृथ्वीको वायुमण्डल र चुम्बकीय क्षेत्रले हामीलाई जमिनको सतहमै पर्ने हानिकारक विकिरणबाट जोगाउँछ, शक्तिशाली सोलार फ्लेयरहरूले माथिल्लो वायुमण्डलमा रेडियो सञ्चारमा बाधा पुर्‍याउन सक्छन् र त्यो सुरक्षा तहबाहिर रहेका स्याटेलाइट तथा अन्तरिक्ष यानमा क्षति पुर्‍याउन सक्छन्।

यी विस्फोटहरू प्रकाशको गतिमा यात्रा गर्छन् र पृथ्वीमा मात्र आठ मिनेटमै पुग्न सक्छन्, जसले उच्च फ्रिक्वेन्सी रेडियो सिग्नल, जीपीएस प्रणाली, र विशेषगरी सूर्यको उज्यालो भागमा पर्ने विमान सञ्चालनमा असर पुर्‍याउन सक्छ।

सोलार फ्लेयरहरूलाई पाँच वर्गमा वर्गीकृत गरिन्छ — ए, बी, सी, एम, र एक्स — जसमा प्रत्येक वर्गले ऊर्जा स्तरमा दशगुणा वृद्धि जनाउँछ। सी स्तरसम्मका फ्लेयरहरू सामान्य मानिन्छन्, एम-स्तरका मध्यम, र एक्स-स्तरका फ्लेयरहरूले विश्वव्यापी असर पुर्‍याउने क्षमता राख्छन्।
बिजनेस स्ट्यानडर्ड

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page