११ श्रावण २०८३,सोमबार

१२०० नेपाली केरूङमा अलपत्र, फर्काउन कुटनीतिक पहल : रसुवा बाढी

  • २ श्रावण २०८२,बिहीबार Updated
  • / 311 Read

१२०० नेपाली केरूङमा अलपत्र, फर्काउन कुटनीतिक पहल : रसुवा बाढी

रसुवा साउन १ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ ।

कामको सिलसिलामा त्यहाँ रहेका ११७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका जनाइएको छ ।

केरुङमा रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ । अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक गरी ९१ जना छन् ।

बाढीमा परी ११ शव र मानवअंगहरु फेला परेका छन् भने १८ जना सम्पर्कविहीन छन् । बाढीले नेपाल–चीन मितेरी पुल भत्काइदिनुका साथै रसुवागढी–स्याफ्रुबेसी खण्डको १६ किलोमिटर क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको छ । रसुवागढी सुक्खा बन्दरगाह, सो क्षेत्रमा पर्ने तीनवटा जलविद्युत आयोजना र भन्सार क्षेत्रबाट करिब एक सय गाडीहरु बगाएको थियो ।

गत असार २४ गते बिहान चीनतर्फबाट आएको हिमबाढी भोटेकोशीमा मिसिँदा विनाशकारी बनेको थियो ।

लिङलिङमा १२० मिटर सडक भत्किएको छ । पहाडको सिधा भित्तातिर बगेको नदीलाई तर्काइएको छ भने भित्तो काटेर ट्र्याक खुलाउने काम भइरहेको छ ।

ट्र्याक खुलेपछि तत्काललाई साना गाडी चलाउने र थप मर्मत गरी ठूला गाडीहरु पनि चलाउन मिल्ने बनाउने अधिकारीहरुले बताएका छन् ।

सडक क्षति भएको अन्य स्थानमा मर्मतको काम सकिए पनि लिङलिङमा मात्र ट्र्याक खोल्न बाँकी रहेको सडक विभागका अधिकारीहरु बताउँछन् ।

नेपाल–चीन जोड्ने मितेरी पुल भने कहिले बन्ने भन्ने अन्योल छ । प्रधानमन्त्री केपी शर्मा ओली बाढी प्रभावित रसुवागढीको अवलोकन गरेर फर्किएपछि सरकारले चीनलाई पुल बनाउन अनुरोध गर्ने निर्णय गरेको थियो । चिनियाँ पक्षले त्यहाँ डोजर लगाइरहेको देखिएकाले पुल बनाउन सुरु गरेको अनुमान नेपाली अधिकारीहरुले गरेका छन् । राससको सहयोगमा । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page