मध्यपूर्व तनावले एसियाली शेयर बजारमा पहिरो, तेलको मूल्य आकस्मिक उकालो
- २५ फाल्गुन २०८२,सोमबार Updated
- / 68 Read
काठमाडौं । मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनावका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढेपछि सोमबार एसियाली शेयर बजारमा भारी गिरावट आएको छ।
सोमबार बजार खुल्नेबित्तिकै कच्चा तेलको मूल्य २५ प्रतिशतभन्दा बढीले बढेपछि लगानीकर्ताहरू सतर्क बनेका छन्। यो समाचार तयार पार्दासम्म कच्चा तेल प्रतिव्यारेल करिब ११५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रमुख एसियाली बजारमध्ये जापानको निक्केई २२५ सूचकांक करिब ७ प्रतिशतले घटेर ५२,०१० अंकमा झरेको छ। दक्षिण कोरियाको कोस्पी सूचकांक पनि ७.४३ प्रतिशतले घटेर ५,१६९ अंकमा पुगेको छ।
त्यस्तै सिंगापुरको स्ट्रेट्स टाइम्स सूचकांक २.६५ प्रतिशतले घटेर ४,७२० अंकमा झरेको छ भने हङकङको ह्याङसेङ सूचकांक २.४६ प्रतिशतभन्दा बढीले घटेर २५,०९५ अंकमा पुगेको छ। ताइवानको वेटेड इन्डेक्स पनि ५.७७ प्रतिशतले घटेर ३१,७६७ अंकमा पुगेको छ।
पश्चिम एसियामा इरान, इजरायल र अमेरिकाबीच बढ्दो द्वन्द्वका कारण तेल आपूर्तिमा अवरोध हुने चिन्ताले बजारमा दबाब बढेको विश्लेषकहरूले बताएका छन्।
अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएको खबर बाहिरिएपछि क्षेत्रीय तनाव अझ चर्किएको छ।
यसैबीच, अमेरिकी शेयर बजार पनि दबाबमा देखिएको छ। गत शुक्रबार एसएन्डपी ५०० सूचकांक १.३३ प्रतिशतले घटेर ६,७४० अंकमा झरेको थियो भने न्यास्ड्याक सूचकांक १.५३ प्रतिशतले घटेर २२,४०० अंकमा पुगेको थियो।
तेलको मूल्यमा आएको तीव्र वृद्धि र बढ्दो भू–राजनीतिक तनावका कारण विश्व वित्तीय बजारमा अनिश्चितता थप बढ्ने विश्लेषकहरूले बताएका छन्।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR