वायु प्रदूषण नियन्त्रणका लागि नेपाललाई विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत
- २७ फाल्गुन २०८२,बुधबार Updated
- / 142 Read
काठमाडौं । नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण र वायु गुणस्तर सुधारका लागि विश्व बैंकले करिब ७ अर्ब ६४ करोड रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने भएको छ।
विश्व बैंकका कार्यकारी निर्देशकहरूको बैठकले नेपाललाई ५ करोड २० लाख अमेरिकी डलर ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो। उक्त रकम ‘नेपाल क्लिन एयर एन्ड प्रस्पेरिटी प्रोजेक्ट’ सञ्चालनका लागि प्रयोग गरिने विश्व बैंकले जनाएको छ।
विश्व बैंकले बुधबार जारी गरेको विज्ञप्तिअनुसार परियोजना विशेषगरी उच्च वायु प्रदूषणको जोखिम रहेका काठमाडौं उपत्यका र तराईका केही क्षेत्रमा केन्द्रित रहनेछ।
परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक तथा व्यावसायिक उद्यमलाई धुँवारहित बनाउने लक्ष्य राखिएको छ। उद्योगहरूमा स्वच्छ प्रविधि प्रयोग, प्रदूषण नियन्त्रण उपकरण जडान तथा वातावरणमैत्री उत्पादन प्रणाली लागू गर्न सहयोग गरिनेछ।
उक्त परियोजना उद्योग विभाग र वातावरण विभागमार्फत कार्यान्वयन गरिने जनाइएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार काठमाडौं उपत्यका दक्षिण एसियाकै प्रदूषित सहरमध्ये एक हो। सवारी साधनबाट निस्कने धुँवा, उद्योगबाट उत्सर्जन हुने धुँवा, सडकको धुलो तथा खुला रूपमा फोहोर जलाउने प्रवृत्तिका कारण वायु प्रदूषण बढ्दै गएको विज्ञहरू बताउँछन्।
सरकारले पछिल्लो समय स्वच्छ ऊर्जा प्रयोग विस्तार, सार्वजनिक यातायातलाई विद्युतीय बनाउने तथा उद्योगहरूमा वातावरणीय मापदण्ड कडाइका साथ लागू गर्ने नीति अघि बढाएको छ। विज्ञहरूका अनुसार विश्व बैंकको यो सहयोगले प्रदूषण नियन्त्रण, जनस्वास्थ्य सुधार र दिगो आर्थिक विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR