२३ जेष्ठ २०८३,शनिबार

निर्वाचन खर्च विवरण सार्वजनिक गर्न रामेछापका उम्मेदवारलाई कार्यालयको निर्देशन

  • २७ फाल्गुन २०८२,बुधबार Updated
  • / 98 Read

निर्वाचन खर्च विवरण सार्वजनिक गर्न रामेछापका उम्मेदवारलाई कार्यालयको निर्देशन

रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका सबैलाई आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरी कार्यालयमा पेस गर्न पत्राचार गरेको छ।

जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रामेछापबाट उम्मेदवार बनेकाहरूले ३५ दिनभित्र आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार उम्मेदवारहरूलाई पत्र पठाएर खर्च विवरण सार्वजनिक गर्न आग्रह गरिएको उनले बताए।

उनका अनुसार मंगलबारसम्म कुनै पनि उम्मेदवारले आफ्नो खर्च विवरण सार्वजनिक गरी कार्यालयमा पेस नगरेको अवस्था रहेको छ। यसलाई ध्यानमा राख्दै कार्यालयले सूचना जारी गर्दै सम्बन्धित उम्मेदवारहरूलाई यथाशीघ्र खर्च विवरण सार्वजनिक गरी बुझाउन आग्रह गरेको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अनुसार उम्मेदवारहरूले निर्वाचनका क्रममा गरेका सम्पूर्ण खर्चको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। उक्त विवरण निर्देशिकाको अनुसूची–४१ को ढाँचाअनुसार तयार पारेर पेस गर्नुपर्ने प्रावधान रहेको कार्यालयले जनाएको छ।

निर्वाचन अधिकारी लामिछानेका अनुसार उम्मेदवारहरूले तोकिएको समयसीमाभित्र आफू स्वयम् वा प्रतिनिधिमार्फत खर्च विवरण निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ।

 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page