११ श्रावण २०८३,सोमबार

२२ करोड ६७ लाख ठगी प्रकरणका फरार योजनाकार योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ

  • २ चैत्र २०८२,सोमबार Updated
  • / 111 Read

२२ करोड ६७ लाख ठगी प्रकरणका फरार योजनाकार योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ

काठमाडौं । नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडसँग सम्बन्धित साढे २२ करोड रुपैयाँभन्दा बढी ठगी प्रकरणका फरार योजनाकार योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन्।

प्रहरीको विशेष टोलीले ६९ वर्षीय श्रेष्ठलाई आइतबार काठमाडौंको नागार्जुन नगरपालिका–५ सितापाइलाबाट पक्राउ गरेको हो। लामो समयदेखि फरार रहेका उनलाई पक्राउपछि फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

बैंकिङ कसूरसम्बन्धी मुद्दामा दोषी ठहर भई श्रेष्ठलाई कुल ६ वर्ष कैद सजाय र २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवाना तोकिएको थियो।

अनुसन्धानका क्रममा श्रेष्ठले नेपाल सेयर मार्केट्स एण्ड फाइनान्समा कार्यरत रहँदा निक्षेपकर्ताको बचत तथा संस्थाको पुँजी अनियमित रूपमा प्रयोग गरी व्यक्तिगत फाइदाका लागि प्रयोग गरेको खुल्न आएको थियो। यस प्रकरणमा नेपाल राष्ट्र बैंकको सिफारिसपछि बैंकिङ कसूर ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

सर्वोच्च अदालतले २०८१ भदौ ५ गते फैसला सुनाउँदै पहिलो मुद्दामा ३ वर्ष कैद र १९ करोड ४६ लाख रुपैयाँ जरिवाना तथा दोस्रो मुद्दामा ३ वर्ष कैद र ३ करोड २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो।

दुवै मुद्दाको सजाय जोड्दा श्रेष्ठलाई कुल ६ वर्ष कैद र २२ करोड ६७ लाखभन्दा बढी जरिवाना तोकिएको हो।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page